लघुकथा: 'महत्त्वाकाङ्क्षा'
लघुकथा: 'महत्त्वाकाङ्क्षा'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
मोबाईल: ९८४१३४२९७२, इमेल: dhrubaraj70@gmail.com
"डाँडाघरे साईँलीको बिहे भएछ नि थाहा तपाईँले केही थाहा पाउनु भयो ?" श्रीमतीले पतिलाई जिज्ञासा राखिन् ।
"नचाहीने कुरा ! उसको बाउ मेरो मिल्ने साथी हो । बिहे हो भने मलाई थाहा हुदैन ? छोरी जसरी पनि विदेश जान्छु भनेरतम्सिएकी छ रे ! कताको बिहे हुन्छ ?" शंकरले अविश्वास प्रकट गरे ।
उनले प्रश्न तेर्साए, " बिहे भएको भए को सङ्ग भएको रहेछ त ?"
"महत्त्वाकाङ्क्षासँग !" उनले उत्तर दिईन् ।
"महत्त्वाकाङ्क्षासँग ? को महत्त्वाकाङ्क्षा ?"
शंकरले प्रतिप्रश्न गरे ।
"उच्चाकाङ्क्षासँग के ! कस्तो नबुझ्नु भएको ? भोगविलासले मान्छे कतिसम्म पागल हुन्छन् ?"
हाहाहा ! शंकरले हास्दै गरे, "तिमी त साहित्यिक भाषा पो बोल्न थाल्यौ त ! 'महत्त्वाकाङ्क्षा', 'उच्चाकाङ्क्षा' अनि'भोगविलास' यो सब के हो ?"
"यो सब आशक्ति हो ! विदेश मोह हो !
छलाङ्मार्ने छड्के बाटो हो !" श्रीमती गोप्य बसिन् ।
"ह्या पार्वती, धेरै कुरा नघुमाउ न, कुरा के हो ? तिमीले कसरी चाल पायौ ? कुरो प्रष्ट पार न !" शंकरले थपे ।
"हिजैमात्र अदालतमा गएर सुटुक्क 'कोर्ट म्यारिज' गरेर आएछन् । भोलि उनीहरू अमेरिका उड्दैछन् रे ! मलाई उसै किबहिनीले 'कसैलाई नभन्नु है अन्टी' भनेर खुसुक्क भनेकी !" पार्वतीले जवाफ दिईन् ।
"त्यो त ठिक छ तर बिहेचाँही कोसँग भएको रहेछ त मलाई बताउ न !" शंकरले पुनः जिज्ञासा राखे ।
"तपाईँले सुन्नुभयो भने छाँगाबाट खस्नुहुन्छ !" पार्वतीले रहस्य थपिदिईन् ।
"ठिकै छ नि त ! म छाँगैबाट खसुँला, भनन त बिहे कोसंग भएछ !" श्रीमतीसंग जिस्कंदै अडान कायम राखे।
पार्वतीले मुख खोलिन्, "बिहे कोसँग हुनु नि, उसैको ठुलोबाउको छोरासँग ! उसलाई डिभी परेको रहेछ नि !"
२०८१ मंसिर २८
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
मोबाईल: ९८४१३४२९७२
इमेल: dhrubaraj70@gmail.com
Comments
Post a Comment