लघुकथा: पशुवध
लघुकथा: 'पशुवध' ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) पशु अधिकारकर्मीले बलीप्रथा विरोधको कार्यक्रमको आयोजना गरेका थिए। उनीहरू चाडबाडको बहाना बनाएर अबोध पशुहरूको बली चढाउन नहुने चेतना बाँड्दै थिए । "पशुहरूको पनि आफ्नो अधिकार हुन्छ । यातना दिएर पशुवध गर्नु महापाप हो । त्यसैले शाकाहारी बनौं, स्वस्थ रहौं !" उनीरूले उपस्थित भद्रभलाद्मीलाई, पर्चा बाँडे । फोटो पनि खिचाए । पत्रकार र आयोजकहरू आआफ्नो बाटो लागे । धेरै भोक लागेको हुनाले म पनि होटल खोज्दै थिएँ ।अलिपर खाजा होटल देखेर त्यतै लागें । खाजा खाईमात्र के सकेको थिएँ, पल्लो होटलमा मानिसको हल्लिखल्ली सुनियो । के रहेछ भनेर नजिकै गएँ । पत्रकार क्यामेरा तेर्साएर केरकार गर्दै थिए, "अघि तपाईँहरूले पल्लो टोलमा पशुवध महापाप हो । शाकाहारी बन्नुपर्छ भनेको होईन ? फेरि यहाँ तपाईँहरू आफैँ चिकेन रोष्ट र मःम खाँदै हुनुहुन्छ त !" मिति: २०८० कार्तिक