लघुकथा: टीका र जमरा
लघुकथा: 'टीका र जमरा'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"होईन के पारा हो तेरो, टीका र जमरा नै भिरेर आएछ त यसले ! कुरा केहो ?" बुबाले अचम्म मान्दै सोधे । "स्कुलमा सर मिसले सबैलाई लगाईदिनु भएको !" छोराले उत्तर दियो ।
"कामछैन नौरङ्गी ढर्रा पारेरमात्र के गर्नु ?" बुबा फत्फताउन थाले ।
"के भयो त किन कराउनु, त्यति लगाएर के भयो त ? उनीहरूलाई ब्यवहारिक ज्ञान दिएको रे क्या ! त्यही भएर जमरा यसरी राखिन्छ, टीका यसरी लगाईन्छ भनेर सिकाएको रे !" आमाले जवाफ दिईन् ।
बुबाको रिसको बारूद पड्क्यो, "हो यही भएर धर्म संस्कृतिको महत्त्व घट्दै गएको । जमरा राख्ने, टीका लगाउने बिधिविधान हुन्छ, शुभसाईत हुन्छ । स्कुलले संस्कृति सिकाएको हो कि विकृति सिकाएको ? पितृपक्षमा जमरा राख्ने, अनि टीका लगाउँने हो ? यस्तो कुरामा पनि खेलाँची गर्न हुन्छ ? दसैँमा घरघरमा जमरा राख्छन्, टीका लगाउँछन् । आफ्नोमा नगरे छिमेकबाट सिक्छन् ! यो सब संस्कृति मास्ने खेल हो !" बुढा कड्कीए ।
मिति: २०८० आश्विन २६

Comments
Post a Comment