लघुकथा: पुरूषत्व
लघुकथा: 'पुरूषत्व'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
शर्मिलाले आफ्नो श्रीमान प्रकाशलाई आदेश दिइन् "ओइ प्रकाश ल मलाई आज छिटो खाना चाहिन्छ है, ढिला नगरेस् नि फेरि, आज अफिस छिट्टै जानु छ ! अँ साच्ची पहिला एउटा मिठो कफी बनाएर ल्या त ! कस्तो कफी खाउँ खाउँ लाग्यो !"
श्रीमतीको कुरा सुनेर प्रकाश रन्थनीयो । उसलाई दिउँसै रात परे झैँ लाग्यो । रिसले आँखै देखेन ।आफूलाई मान सम्मान राखेर आदरभावले बोल्ने श्रीमतीलाई आज एकाएक के भयो ? भन्ने लाग्यो । श्रीमतीको व्यवहारले उ अक्क न बक्क भयो । होस सम्हाल्यो । अर्को कोठामा गएर आँखा चिम्लेर चुपचाप बस्यो ।
" होईन के भयो हजुरलाई ? आज हजुरलाई मसङ्ग धेरै रिस उठ्यो होला हैन ? ल यो कफी खानुस् मन शान्त हुन्छ !" भन्दै श्रीमतीले टाउको मुसार्दा ऊ झसङ्ग भयो ।
"अघि तैँले मसँग किन त्यसरी तँ तँ र म म गरेर बोलिस ? तँलाई के भयो ?" श्रीमान जङ्गीए ।
श्रीमतीले नम्र भएर जवाफ दिईन्, "वर्षौंदेखि मलाई हजुरले त्यस्तै शब्द प्रयोग गर्नुहुन्छ, खोई म रिसाएकी छैन । आखिर हामी पनि त मान्छे नै हो । हजुरलाई त्यस्तो शब्द बोल्दा कस्तो लाग्दो रहेछ भनेर जाँच गरेकी नि ! आखिर त्यस्तो मन दु:खाउने शब्द राम्रो होइन रहेछ नि हैन त श्रीमानज्यू !"
मिति: २०८० असोज २५
Comments
Post a Comment