लघुकथा: `अख्तियार´
लघुकथा: `अख्तियार´
✍️ ध्रुवराज थापा
माईला दाइको पसलमा चिया पिएर गफिंदै गरेको बेला होमनाथले सोध्यो- "साँच्चै, हाम्रो पुरानो साथी राकेश आजभोली कता छ कुन्नी ! धेरै भयो भेटघाटै छैन, तिमीलाई केही थाहा छ त उस्को बारेमा ?"
"ए, तिमीलाई राकेशको बारेमा थाहा छैन र ?" होमनाथको कुरा सुनेर टंकले जवाफ फर्कायो ।
हतारिंदै होमनाथले पुन: प्रश्न तेर्सायो "किन ? के भो र ?"
"उ त अहिले अख्तियारमा पो पुगेको छ त !" टंकले सुनायो ।
"ए हो र ? अहिले अख्तियारमा पो छ त्यो ? मलाई त उहिल्यै लागेको थियो त्यो एकदिन अवश्य त्यहाँ पुग्छ भनेर ! सानो काम पनि घुस नखाई फिटिक्कै नगर्ने, त्यसलाई मैले साथीको नाताले एउटा सानो काम गरिदिन भन्दा मसंग पनि घुमाउरो पाराले पैसा खान खोज्यो ।खरदारको जागिरे, तर काठमाडौँमा दुईवटा घर, गाडी, छोराछोरी महङ्गा स्कूलमा ! बा बा बा कम्ति मस्ति गरेको थियो र त्यसले ? पाप धुरीबाट कराउँछ भन्थे, हो रहेछ ! बल्ल आँखा खुल्यो होला अब त्यसको !" होमनाथले एकै सासमा यतिकुरा भन्न भ्यायो ।
"तिमीले भनेको कुरा त ठीकै हो, तर राकेश समातिएर हैन उसको बढुवा भयो अनि सरूवा भएर पो अहिले उ अख्तियारमा पुगेको हो त !" टंकले हाँस्दै भन्यो ।
(काभ्रे, पनौती, हाल: कपन, काठमाडौं)
Comments
Post a Comment