लघुकथा: पीडा
लघुकथा प्रतिष्ठानको दोस्रो बार्षिकोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना तथ उत्तरोत्तर प्रगतिको कामना सहित बुढ्यौली विषयक प्रतियोगी लघुकथा: 'पीडा'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"हजुरबुबा किन हजुर जहिले पनि सिरानीमाथि भित्तामा रहेको शिवजीको फोटोलाई हेर्दै हे शिव, मलाई छिट्टै लैजाउ मात्र भन्नुहुन्छ ? मैले धेरैपल्ट यो कुरा सुनिसकेँ ! किन यस्तो कुरा गर्नुभएको हजुरबुबा ?" नातिले हजुरबुबालाई प्रश्न गरे ।
"अब मलाई बाँच्ने मन छैन बाबु, कस्को लागि बाँच्नु ? तेरो हजुरआमाले छोडेर गएको पनि यतिका वर्ष भैसक्यो ।"
उनले थपे "मिठो खाने, राम्रो लगाउने, नयाँनयाँ ठाउँमा घुम्न जाने उमेरमा तिम्रो बाउको स्याहार सम्भार गर्दैमा ठिक्क भो ! पछि छोराले सबै चाहना पूरा गरिहाल्छ नि भनेर ढुक्क भईयो ! आफ्ना ईच्छा चाहानाहरू सबै दबाएर छोराछोरीको खुसीसङ्ग साटियो । छोरा बुढेसकालमा सहारा बन्ला भनेको अहिले पहेलित भएर बाँच्नु परेको छ बाबु !" हजुरबुबाले गुनासो पोखे ।
"हजुरबुबा त्यस्तो कुरा नगर्नुस् अहिले त मैले पनि जागिर खाएको छु । पहिलो महिनाको तलब पनि थापेकोछु ल भन्नुहोस् हजुरलाई के खान मन लागेको छ ?" नातिले सोधे ।
हजुरबुबाले भने "म बुढोमान्छेलाई कहाँ मिठो खान मन लाग्छ र बाबु ?" नातिले फेरि सोधे, "त्यसोभए हजुरलाई के लगाउन मन छ भन्नस् म किनेर ल्याईदिन्छु ।"
हजुरबुबाले उत्तरदिए, "बुढोमान्छेलाई किन नयाँ लुगा लागाउनु पर्छ र ? भो पर्दैन बाबु दु:ख नगर ।"
"उसो भए हजुरलाई म कतै नयाँ ठाउँमा घुम्न लैजान्छु कता जाने ल भन्नुस् हजुरबुबा ।" नातिले फेरि सोधे ।
हजुरबुबाले आफ्नो अडान पुन: दोहोर्याए, बुढोमान्छेले किन घुम्नु पर्यो र बाबु ?"
"किन हजुरलाई केहि कुराको ईच्छा र चाहना लाग्दैन र किन यसो भन्नु भएको हजुरबुबा ?" नातिले जिज्ञासा राखे ।
"बाबु ईच्छा र चाहना हुन्छ कि हुदैन भन्ने कुरो तिम्रा बाउआमा म जस्तै बुढो भएपछि उनीहरूलाई सोध्नु, थाहा पाउँनेछौ । तिमीले चाँही आफ्ना बाउआमाप्रतिको कर्तब्य कहिल्यै नभुल्नु है ?" हजुरबुबाले भने ।
नातिले अचम्म मान्दै सोधे, " हजुरबुबा तपाईँलाई मैले जे सोध्दा पनि बुढो मान्छेले किन गर्नु पर्यो, बुढो मान्छेलाई किन चाहियोमात्र भन्नुहुन्छ, किन ?
हजुरबुबाले उत्तर फर्काए, "यो प्रश्नको उत्तर तिम्रो आमा र बाबालाई सोध !"
मिति:२०८० कार्तिक २
( प्रतियोगीतामा उत्कृष्ठ ११ मा पर्न सफल लघुकथा)
Comments
Post a Comment