लघुकथा: गर्भाधान

 लघुकथा: गर्भाधान 

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ )

"ल भन तैँले कसको भूँडी बोकिस् ? आज सबैका सामु यो कुरा बताउनै पर्छ । तेरो पेटको बच्चाको बाउ को हो ? लाज नभएकी नकचरी, हाम्रो इज्जत माटोमा मिलाईस् हैन तैंले !" सासुले सबैका सामू बुहारीलाई केराउदै थिइन् ।पन्चभेलामा उपस्थित सबै मुखामुख गरिरहेका थिए ।

बुहारीले सासुलाई जवाफ दिंदै भनिन्, "यो गर्भ तपाईँकै छोराको हो, किन ढाँट्नु पर्छ र मैले ? 

बुहारीको जवाफले अझै क्रोधित हुँदै सासुले भन्न लागिन् "अझै बकबक गर्छेस् अलच्छिनी ! कुन मुखले भन्न सकेकी हँ ? मलाई थाहा छैन र मेरो छोरा विदेश गएको दुईबर्ष भयो भन्ने कुरा !"

पञ्च भलाद्‌मीमध्ये एक बयोवृद्धले भने "यी मास्टरनी नानी ज्यादै सोझी पो थिइन त ! गाउँका केटाकेटीलाई राम्रैसँग पढाउँथिन् । मिसले हामीलाई राम्रा राम्रा कुरा सिकाउनुहुन्छ भन्थे केटाकेटीहरु पनि ! कसरी यस्तो भयो ? तिम्रा कुरा हामीले कसरी पत्याउने मास्टर्नी नानी ?"

बुहारीले यसपल्ट पनि आफ्नो अडान छाडिनन् र भनिन् "मेरो पेटमा हुर्कदै गरेको गर्भ मेरै पतिको हो ! साँचो कुरा बोल्दा, तपाईँहरू किन मेरो हुर्मत लिंदै हुनुहुन्छ ?" 

बुहारीका कुरा सुनेर सबै गलल हासे । एउटाले भन्यो, "कस्तो जमाना आयो ? भुँडी बोक्न पनि अब श्रीमान नचाहीने भएछ ! के देख्नु र सुन्नु परेको ? लाजको पसारो !"

ससुराले थपे, "तिमी कुरा नै अचम्मको गर्छ्यौ ! हाम्रै छोराको गर्भ हो भनेर रट् लगाएको लगाइ छ्यौ ! के समाज र हामीलाई मूर्ख भन्ठाने कि तिमीले ?" 

"होइन बुबा, हजुरहरूले मलाई विश्वास गर्न सक्नु भएन, त्यही भएर मैले हजुरको छोरालाई एक हप्ता अघिनै नेपाल आउन भनिसकेको छु ।वहाँ यहीँ आईपुग्ने बेला भयो सबैकुराको छिनोफानो अहिले नै भइहाल्छ नि ! भर्खरै म्यासेज आएको थियो घर पुग्नै लागेँ भनेर !" बुहारीले उत्तर दिइन् ।

यत्तिकैमा पञ्चभेलामा छोराको साथमा एकजना महिलाको प्रवेश हुन्छ । छोरा भन्छन् "हैन, के को भिड हो यो ? मेरी गर्भवती श्रीमतीलाई किन तनाव दिईंदैछ ? उनको गर्भमा मेरै बच्चा हुर्कंदै छ !" 

उनको कुरा सुनेर उपस्थित सबैजना मुखामुख गर्न थाले । 

उनले थपे "तपाईँहरूले मेरो कुरा विश्वास गर्नुहुन्न भनेर डाक्टरसापलाई पनि सँगै लिएर आएको छु । ल डाक्टरसाप सबै रहस्य खोलिदिनु पर्‍यो !"

डाक्टरले भनिन् "हो यो कुरा सत्य हो । यो गर्भ वहाँ कै हो ! IVF प्रविधिको प्रयोग गरी हामीले नै वहालाई गर्भाधान गराएका हौँ । IVF भनेको In vitro fertilization हो । लामो समय विदेश बस्नुपर्ने भएकोले हाम्रो सल्लाह अनुसार वहाँको वीर्य निकालेर सञ्चय (freez sperm) गरिएको थियो र उहाँहरुले भनेपछि उक्त सञ्चित वीर्य २० महिना पछि हामीले वहाँको पाठेघरमा राखिदिएका थियौँ !"

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ )

२०८० भाद्र २२

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'