लघुकथा: श्रध्दाञ्जली
लघुकथा: श्रध्दाञ्जली
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"जिउँदो मान्छेलाई श्रध्दाञ्जली लेख्ने ? कत्रो हिम्मत त्यसको ?"
"होईन किन त्यत्तीकै रन्किएको, को भयो फेरि ?" श्रीमतीले सोधिन् ।
हिक्मतले मोबाईल देखाउँदै भने, " हेरन म सम्मानित भएको फोटोमा सवैले हार्दिक बधाई लेखेका छन्, यसले चाँही 'हार्दिक श्रध्दाञ्जली' भनेर लेखेछ !"
श्रीमतीले भनिन्, " यो मान्छे हजुरकै प्रिय छात्र होईन र ? खुब सज्जन छ भन्नुहुन्थ्यो त !"
"हो ! त्यसले त्यस्तो त नगर्नु पर्ने, कतै भूलवस भएछ कि, एकपटक फोन गरेर सोध्नुपर्यो ।"
हिक्मतले मोबाईल थिचिहाले । उताबाट फोन पनि उठीहाल्यो । "हेलो... के को नमस्कार नि ! ए भाई किन तिमीले मेरो फोटोमा हार्दिक श्रध्दाञ्जली लेखेको ? कहिलेको रिस फेरेको बाबु तिमीले ?" हिक्मतले एक्कै सासमा भन्न भ्याए ।
"सर, हजुर मेरो आदर्श हुनुहुन्छ, मैले हजुर सम्मानित भएकोमा खुसीले गदगद भएर श्रद्धाको अञ्जुली अर्पण गरेको हुँ !" छात्रले प्रतिउत्तर फर्काए र तुरून्तै म्यासेज पठाए ।
हिक्कमतले म्यासेज हेरे । छात्रले बृहत् नेपाली शब्दकोको स्क्रिनसट पठाएका रहेछन्, त्यसमा 'श्रध्दाञ्जली' को अर्थ लेखिएको थियो- 'देवता वा सम्मान्य ब्यक्तिमा चढाउनका निम्ति देखाइने फल, फूल, माला, अर्घ्य आदि सहितको अञ्जलि !'
Comments
Post a Comment