लघुकथा: फुपूको श्राद्ध



 लघुकथा: फुपूको श्राद्ध

✍️ ध्रुवराज थापा 'पुरुष'
(काभ्रे, पनौती । हालः कपन, काठमाडौँ ।)
पालिकाका अध्यक्ष 'स्वाँस्वाँ र फ्वाँफ्वाँ' गर्र्दै टुप्लुक्क आईपुगे । पत्रकार पालिकाका अध्यक्ष अग्रगामीसँग अन्तरवार्ताको तयारीमा छन् ।
पत्रकार: "अध्यक्षज्यू तपाईँको पालिकाको निकै चर्चा परिचर्चा सुनेर म तपाईँसँग अन्तरवार्ता लिन आएको छु ।"
अध्यक्ष: लामोलामो सास फेर्दै उनले भने "धन्यवाद"
पत्रकार: "अध्यक्षज्यू तपाईँको नाम अग्रगामी, तपाईँले आफ्नो अनुसारकै काम गर्दै हुनुहुन्छ रे ! के यो कुरा सत्य हो ?"
अध्यक्ष: "हो मैले अन्य पालिकाको भन्दा पृथक ढंगले कार्य गर्दै आएको भएर त्यस्तो भनेको हुनसक्छ । मलाई लाग्छ हामी अरूभन्दा भिन्न छौँ ।"
पत्रकार: "त्यसो हो भने तपाईँले आफ्नो पालिकामा गरेका नमूनाका कामहरू बुँदागत रूपमा बताउनुस् न त हामीलाई ।"
अध्यक्ष: "पहिलो नम्बरमा हामीले पालिकाका सबै पदाधिकारीलाई प्रत्येक वर्ष एउटा स्मार्टफोन र पोशाक वितरण गर्दै आएका छौँ । दोस्रो नम्बरमा पर्यटन प्रवर्धन गर्न सबैजसो कार्यक्रमहरू हामले रिसोर्टमा गर्ने गरेका छौँ, त्यतिमात्र होईन शिक्षाको विकास का लागि हरेक वर्ष सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरूलाई तीन तारे होटलमा आवास सहितको रिफ्रेसमेन्ट कार्यक्रम पनि राख्ने गरेका छौँ ।"
पत्रकार: "ए यही हुन् तपाईँको चर्चाको कारण ? अनि आगामी दिनमा कस्तो कार्यक्रम ल्याउने तयारीमा हुनुहुन्छ त अध्यक्षज्यू ?"
अध्यक्ष: "हामीले यस वर्षदेखि पालिकाका प्रतिनिधी तथा कर्मचारीको जन्मदिन मनाउन खर्चको व्यवस्था गरका छौँ । त्यसै गरि छिट्टै पालिका भित्रका महिलाहरूका लागि ४ दिन रजस्वला बिदा दिने निर्णय पनि गर्दैछौँ ।"
मनमनै "लुटको धन फुपूको श्राध्द" भन्दै अर्को प्रश्न नसोधी पत्रकारले कलम बन्द गरे ।
२०८० असोज

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'