लघुकथा : 'कुतूहल'

 कुतूहल

✍️ध्रुवराज थापा 'पुरुष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ)
"ए हेर त, त्यहाँ को आएर बस्यो ? के पारा होला, कस्तो अचम्म !" मैले सगै बसेको साथीलाई मञ्चतर्फ सङ्केत गरे । "आयोजककै कोही आफ्नै मान्छे होला !" विपिनले भन्यो । कृति विमोचन कार्यक्रममा प्रमुख अतिथिले सम्बोधन गर्दै हुनुहुन्थ्यो । त्यो अपरिचित मान्छे कार्यक्रमकै बिचमा उद्घोषले नबोलाईकनै प्रमुख अतिथिको सिटमा गएर बसेको थियो ।
हलका सबै मानिस मुखामुख गर्न थाले । उद्घोषकले कृतिका सर्जक र कार्यक्रमका सभाध्यक्षलाई अपरिचित मानिसको बारेमा साउती गरेर सोध्नुभयो । उहाँहरुले अनभिज्ञता जनाउनु भयो । एकैछिन सभाहलमा कौतुहलताको वातावरण सिर्जना भयो । प्रमुख अतिथिले आफ्ना कुराहरु राख्दै हुनुहुन्थ्यो । उक्त अपरिचित व्यक्ति सानकासाथ मञ्चमा खुट्टा हल्लाएर चारैतिर हेरेर बसिरहेको थियो ।
आयोजकले निमन्त्रणा नगरेको मानिस ठहर भएपछि, आयोजक मध्यका एकजनाले मञ्चमै गएर उनलाई बाहिरजानको लागि इसारा गरे । सुरुमा त्यहाँबाट जान आनाकानी गरेपनि त्यो अपरिचित पछि उठेर बाहिर गयो ।
मलाई झन कुतूहलता बढ्यो । सभाहलबाट बाहिर निस्केर रहस्यको खोजीगर्न थालेँ । त्यो अपरिचित बाहिर झोक्राएर बसेको थियो । अब उसैलाई बास्तबिक कुरो सोध्छु भनेको त यता कुनामा मानिसहरु गाईँगुईँ गर्दै थिए, "त्यो पनि सर्जक हो । उसको पहिलो कृति बिमोचनको दिनमा यही हलमा समालोकचहरुले उसलाई बेस्सरी झपारेको थिए । के लेखेको यस्तो ! अझै धेरैवर्ष मिहेनत गरेरमात्र किताब निकाल्नुस् ! किताब निकल्ने कुरा केटाकेटीको खेल हो र ! जस्ता तुच्छ शब्दले होच्याएर निन्दा गरेकोले उ त्यस्तो भएको हो ।"
एत्तीकैमा मानसिक अस्पतालको गाडी आएर रोकिन्छ । "यो मान्छेले सारै दुःख दियो, खाली भगेको छ, भागेको छ ! कतिपल्टमात्र हामी यस्लाई खोज्न यहाँ आउनु !" भन्दै अस्पतालका सुरक्षाकर्मीले उसलाई गाडीमा हालेर लगे ।
मितिः २०८० असोज १३

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'