लघुकथा: दृष्टिकोण

 लघुकथा: दृष्टिकोण

https://files.fm/f/v4dnstjmzc



✍️ ध्रुवराज थापा 'पुरुष'
`कस्तो घुरेर हेरेको होला, कहिल्यै केटी देख्न नपाएको जस्तो ! यो केटा मान्छेको जात त, राम्री केटी देख्नै नहुने, क्वाप्लाक्कै खाउँला जस्तो गरी पो हेर्छन् त बा !´ करिष्मा भुतभुताउँदै थिइन् ।
करिष्माको किशोरावस्थाको उर्लदो बैसालु जवानीले गर्दा, जो केही पनि भुतुक्कै हुने खालको रुप थियो उनको । सायद उनी कसैलाई पर्खेर बाटोको छेउमा उभिएकि थिइन् । टाइट जिन्स पाइन्ट, पेन्सिल हिल, रङ्गिन बुट्टे सर्टमा सजिए कि थिइन् उनी । उसैमाथि उनी अनुहारमा आधुनिक मेकअप र हेयर स्टाइलले धपक्कै बलेकी थिईन् । बाटोमा ओहोरदोहोर गर्दा उनलाई एकपटक हेरेर र्याल नकाढ्ने कोही पनि थिएनन् ।
आफू नजिकै गाडी कुरेर बसेको साधारण पहिरनको एउटा केटो, करिष्मालाई अघिदेखि हेरेर केही भन्न खोजे झैं गरी रहेको थियो । त्यस केटाको चाला देखेर करिषमाको रिसको पारो चढ्दै थियो । करिष्माको रोषपूर्ण अनुहार देखेर केटोले पनि उनीसँग बोल्न हिचकिचाइ रहेको थियो । तर बेलाबेलामा उनलाई हेर्न भने छोडेको थिएन ।
केटाले पटक पटक आफूलाई अनौठो किसिमले हेरीरहेको कुरा करिष्मालाई राम्रैसँग थाहा थियो । बाटोमा हिँडने पुरुषले आफूलाई नजर लगाएको कुराबाट पनि उनी बेखबर थिईनन् । आफू निकै राम्री छु भन्ने कुरालाई पुरुषका यी हेराईहरुले प्रमाणीत गरेको ठानेर उनी मनमनै प्रफुल्ल थिइन । तर, एउटा सामान्य पहिरनमा रहेको केटाले घरिघरि हेर्दा भने उनी आफ्नो इज्जत घटेको महसुस गर्दै थिइन ।
यस पटक केटोले करिष्मालाई केही भन्ने आँटै गरेर बसेको ठाउँबाट जुरुक्क उठ्यो र उनि भएतिर गयो । अघिदेखि आफूलाई बारम्बार हेर्ने र बोल्न खोज्ने केटो नजिकै आएर हेर्न थालेपछि भने उनी झन् आगो भइन् र `के हेरेको त्यसरी, लाज छैन ? कहीं नभएको लफङ्गो´ भन्दै केटाको गालामा एक चड्कन लगाईन् ।
केटोले आफ्नो गाला सुम्सुम्याउँदै सुस्तरी भन्यो `दिदी, तपाईँको पाइन्टको चेन खुल्लै छ, म अघिदेखि त्यहि कुरा भन्न खोज्दै थिएँ ।´ लाज र पश्चातापले करिष्मा रातो पिरो भइन् ।
(काभ्रे, पनौती, हालः कपन, काठमाडौं)

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'