लघुकथा: 'आदर्श'
लघुकथा: 'आदर्श'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
मानबहादुरलाई गाउँको भद्र भलादमी, परोपकारी, समाजसेवी आदिका रूपमा गाउँका मान्छेले मान्दै आएका थिए । दुईचार अक्षर पनि चिनेका र धन प्रशस्त भएकाले समाजमा उनको आफ्नै धाम, रवाफ र सम्मान थियो ।
मानबहादुरलाई 'नारी अधिकर र स्वतन्त्रता' विषयमा सम्बोधन गर्न एउटा कार्यक्रममा प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो ।
"नारी भनेकी हाम्री माता हुन्, सृष्टिकर्ता हु्न्, उनीहरूलाई हामीले सम्मन दिन जान्नुपर्छ । एउटी आमा शिक्षित भईन भने पूरै परिवार शिक्षित हुनसक्छ, तसर्थ हामीले उनीहरूलाई पुरूष सरह अधिकार र स्वतन्त्रता दिलाउने काममा दिलोज्यानले सहयोग गर्नुपर्छ ..." आदि इत्यादि प्रभावपूर्ण भाषण मानबहादुरले दिए ।
सभामा उपस्थित भद्रभलादमीहरू कामेखुसी गर्दै एकजनाले भने, "बुढाले त निकै तगडाको भाषण दिए ।" अर्को भन्दै थियो, "कति राम्रो भाषणशैली ! कति राम्रो उदाहरण !" यस्तै यस्तै मानबहादुरको निकै प्रशंसा भयो र बिचबिचमा खुब थपडी आयो ।
भाषण पछि मानबहादुर घर फर्किए । चर्किएर भाषण दिएकोले उनलाई निकै थकाई लागेको थियो । उनले खुट्टा तेर्साए सदाझैँ उनकी श्रमतीले उनको जुत्ता र कोट खोलिदिईन । यत्तिकैमा घर बाहिर मानिसहरूको हल्लाखल्ला सुनियो । मानबहादुरले कान थापेर सुने । जुलुसले नारा लगाउँदै थियो । "बलात्कारी मानबहादुर... मूर्दावाद ! बलात्कारीलाई, ...सजाय दे !!"
(२०५२ सालमा 'पूर्वी-तारा'मा प्रकाशित लघुकथा)
Comments
Post a Comment