लघुकथा: चक्मा

 तिहार विशेष प्रतियोगी

लघुकथा: चक्मा
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"मैले तिमीहरूलाई हिजो भनेकै थिए नि, म तिमीहरूलाई सर्प्राईज तरिकाले ट्रिटमा लैजान्छु भनेर !" रिसोर्टको रात्री बसाईका क्रममा दिनेशले ह्विस्कीसँग कुखुराका फिला तान्दै भन्यो ।
"त्यही त बाबाले जहिले घुमाउन लैजानु भन्दा वास्ता गर्नुहुन्नथ्यो, आजभने यो मौका पाईयो । धन्यवाद छ, बाबा हजुरलाई ।" छोराले जुस पिउँदै भन्यो ।
श्रीमतीले थपिन्, "मलाई पनि अचम्मै लागिरहेको छ ! हजुरले हामीलाई आज एक्कासी रातबस्न यहाँ किन ल्याउनु भयो भनेर, सितिमिति घुम्नडुल्न मन पराउने मान्छे त होईन हजुर, हजुरले त हामीलाई 'चक्मा' पो दिनुभयो !"
दिनशले अट्टाहस हास्दै भन्यो, "हाहाहाहाहाsss मैले आज तिमीहरूलाई मात्र होईन उनीहरूलाई पनि 'चक्मा' दिँए, तिनीहरूलाई दिने पैसा यहाँ खर्च गरेँ !"
छोरीले आश्चर्य मान्दै सोधिन्, "बाबा तिनीहरू भनेको को ? अनि तिनीहरूलाई दिने पैसा...! के भन्न खोज्नु भएको मैले त केही कुरै बुझिन नि !"
दिनेशले भन्यो, "आज देउसी खेल्न आउँछौँ ५० हजार घटी हुदैन भनेर क्लबका केटाहरूले हिजै मलाई चिठ्ठी थमाएका थिए । मैले घरको मुलगेटमा ताल्चा लगाउने बेलामा गाउँमा जुठो परेकोले हामी गाउँ लागेका छौँ भनेर लेखेर टाँसिदिएको छु।"
२०८० कार्तिक

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'