लघुकथा: ट्राफिक
लघुकथा: ट्राफिक
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"तेरो ड्याडी बिजनेस म्यान भनेर खुब धक्कु लाउँथिस् त, हैन पो रहेछ ।" कक्षा दशमा संगै पढ्ने हरिसले रियानलाईहोच्यायो । उनीहरू स्कुल बस कुरेर बसेका थिए ।
रियानले जवाफ फर्कायो, "तँ बौलाईस् कि के हो ? हाम्रो न्युरोडमा आफ्नै पसल छ ।कसले भन्यो तँलाई यस्तो कुरा ?"
हरिसले निर्धक्क भन्यो, "कसले भन्नु नि मेरो आफ्नै अँखाले देखेको ! हिजो शनिवार म मम्मीसँग बजार गएको बेलामादेखेको ! तेरो ड्याडी ट्राफिक हो कि होईन ? ल नढाँटी भन् त !"
यसैबिच सँगै हिडेकी परिनाले हरिसलाई भनिन्, "रियानको चाँही होईन बरू तिम्रो बाबा चाँही ट्राफिक प्रहरीको जागीरगर्नुहुँदो रहेछ ! म पनि हिजो बाबासँग घुम्न निस्केको थिएँ तिम्रो बाबा ट्राफिक प्रहरीको पँहेलो ज्याकेट लगाएरगाडीलाई यताबाट उता जान निर्देशन दिँदै हुनुहुन्थ्यो, म स्वयंले देखेको !"
हरिसले प्रतिकार गर्यो, "हावा कुरा मेरो बाबा डाक्टर हो भनेर मैले अस्तिनै सबैलाई भनेको होईन बिर्स्यौ कि क्या हो ?"
रियानले यथार्थ पहिल्यायो, "एss ल मैले बल्ल कुरो बुझेँ हो उस्को बाबा र मेरो ङ्याडीले हिजो एकदिनको लागिट्रफिकको जागीर खानु भएको रहेछ !"
हरिस र परिना दुबैले आश्चर्य मान्दै सोधे, "कसरी ?"
रियानले जवाफ फर्कायो, "पक्कै वहाँहरू मापसे कारबाहीमा पर्नु भएछ !"
मिति : २०८१ /०२/१८

Comments
Post a Comment