लघुकथा : बिकृति


 लघुकथा :  बिकृति (असार १५ विशेष)

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)


उनीहरूका उत्तर सुनेर सामाजिक शिक्षक अचम्मित परे ! 

शिक्षकले कक्षा ११का विद्यार्थिलाई हाम्रो संस्कृति, रीतिरिवाज र चाडपर्वको वारेमा सिकाउनु भन्दा पहिले विद्यार्थीको पूर्वज्ञान बुझ्न प्रश्न गर्दै थिए ।

"राकेश ल तिमी भन त, 'होली पर्व' हामी कसरी मनाउछौँ ?" शिक्षकले प्रश्न राखे ।

"सर हाम्रो तिर त बेलुनमा फोहोर पानी भरेर होलीमा केटीहरूलाई लखेटी लखेटी हिर्काउँछन् ।अनि जतापायो त्यता जबरजस्ति बेस्सरी रङ्ग पनि दलि दिन्छन् " राकेशले जवाफ दियो ।


शिक्षकले फेरि अस्मितालाई प्रश्न गरे, "ल अस्मिता तिमी भन त 'तीज पर्व' महिलाहरूले कसरी मनाउँछन् ?"

शिक्षकको प्रश्न भूईँमा खस्न नपाउदै उनले जवाफ फर्काईन्, "सर तीज महिना भरी मनाईन्छ । कहिले कस्को कहिले कस्को घरमा गएर मिठामिठा खानेकुरा खाईन्छ ।मलाई त तीज कस्तो रमाईलो लाग्छ ! विभिन्न समूह संघसंस्थाले पार्टी प्यालेस, होटल र रिसोर्टमा पनि कार्यक्रम राखेको हुन्छ, खायो नाच्यो क्या मज्जा !" उनी थप्दै थिईन, "सुनका गहना महंगा महंगा लुगाफाटा लगायो । आहा ! कस्तो स्वतन्त्र !  कति खुसी हुन्छन् सर महिलाहरू त्यसबेलामा, कसैकसैले त मासु र रक्सी पनि खान्छन् सर ।निक्कै रमाईलो पो हुन्छ त हाम्रो तिर !"

शिक्षक खुइय्य सुस्केरा हालेर मेचमा थचक्क बसे । उनले अविनाशलाई अर्को प्रश्न सोधे, "अविनाश असार १५ कसरी मनाईन्छ ल भन त !"

अविनाशले फटाफट जवाफ दिईहाले, "सर असार १५ मा कतिले विद्यार्थीलाई गमलामा रोपाईँ गर्न सिकाउछन् । ठूला मान्छेले दुबोको मालाजस्तै गरी धानको बिउको माला लगाउछन् । नेता र कलाकारले धान रोप्न बनाईएको खेतको हिलोमा महिलासङ्ग लडिबुडी गरेको कम्ता रमाईलो हुदैन सर ! फेसबुक भरि त्यस्तै फोटा पोष्ट भएको हुन्छ, साँझमा टेलिभिजनले पनि त्यो सबै देखाउँछ । फेरि भोलिपल्ट पत्रिका भरी पनि असार १५ कै फोटो र समाचारहरू छापिएको हुन्छ ।"

शिक्षक एक्कासी हक्कानिए, "हे नयाँ पुस्ता तिमिले बिकृतिलाई संस्कृति भनेर सिक्ने भयौ !"

२०८१असार१५

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'