लघुकथा: 'अस्तित्व'
लघुकथा: 'अस्तित्व'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
"तिमी म भन्दा पछि मरेको पहिले बाँच्यौ तर म तिमीभन्दा धेरै पछि मरेको कहिले बाँच्छुहोला ?" मरेका र बाँचेकादुईजना कुराकानी गर्दै थिए ।
"त्यहि त तिमी समयको पालक थियौ । कुनै समय त्यस्तो थियो तिमीबिना कामकाजै चलाउन गार्हो थियो ।सहरवासीलाई दैनिक जगाउने तिमी नै थियौ !" बाँचेकोले भन्यो ।
मरेकोले थप्यो, "पहिलेका गै हाले, अहिलेकाले मेरो महत्व बुझेनन् ।अहिले पो म वृद्ध भएँ, जवान छँदा सवै मेरैइसारामा नाच्थे ! बाटो हिँड्दा मेरो सौन्दर्यलाई पुलुक्क फर्केर नहेर्ने कोही थिएन
।"
"हो त समय समयमा समिप बसेर तिम्रो गर्जन सुन्ने बानी परेको म, आजभोली मेरा कान तिम्रा प्यासी बनेकाछन्, तिमीलाई खोजीरहेका छन् ।" बाँचेकोले उसको अभाव दर्शायो र थप्यो, "म जिउँदो छँदा मानिसहरूले मलाईहत्याराको समेत लान्छना लगाउन समेत पछि परेनन् तिमिलाई थाहा नै छ ।"
"हो नि त्यस कुराको साक्षि म छु नि ! दिनरात तिमै छेउमा म ठिङ्ग उभिइ रहेको हुन्थेँ । मान्छेहरू आफ्ना विभिन्नव्यक्तिगत व्यथा बोकेर आउँथे, झ्वाम्म हामफालेर मर्थे, बेकारमा अपजस् तिमीलाई आउँथ्यो ।
मृतकले अनुरोध गर्यो, "लौन तिमीलाई जसले ब्यूँतायो उसलाई मलाई पनि पुनर्जिवित गर्न भनिदेउ न ! म त्यही आशामाबसेको छु ।
यदी म बाचेँभने अझै धेरै वर्ष निरन्तर सेवा दिने थिएँ !" रूँदै घण्टाघरले रानीपोखरीलाई भन्यो ।
मिति : २०८१ जेठ ४
(लामो समयदेखि बिग्रीएको घण्टाघर र भर्खरै पुनर्जीवन पाएको रानीपोखरीको सम्मानमा)
लघुकथा संसारमा पठाएको

Comments
Post a Comment