कविता : आउ हामी सबै मिलेर देश लुटौँ

 कविता : आउ हामी सबै मिलेर देश लुटौँ

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )


आउ हामी सबै मिलेर देश लुटौँ

सरकार बनाएर लुटौँ

सरकार ढालेर लुटौँ

गुटबन्दि गरेर लुटौँ 

फकाएर लुटौँ,

धम्क्याएर लुटौँ 

जो जो जहाँ छौँत्यहीँबाट लुटौ 

वडामा हुनेले वडाबाटै लुटौँ,

पालिका पालिकामा लुटौँ 

प्रदेश प्रदेशमा लाजै पचाएर लुटौँ !

संसदमा लुटौँ

मन्त्री बनेर लुटौँ

सेनामा लुटौँ

प्रहरीमा लुटौँ 

हामीले नलुटे कस्ले लुट्ने ? 

अहिले नलुटे कहिले लुट्ने ?

जातको नाममा लुटौँ,

धर्मको नाममा लुटौँ 

भूमाफिया बनेर किसानको जमिन लुटौँ,

नेता बनेर ललिता निवास लुटौँ 

जजस्ले जति सक्छ त्यति लुटौँ।

उठ्नै नसक्ने गरी लुटौँ,

तन्नमहरि हुनेगरी लुटौँ 

हामीले नलुटे कस्ले लुट्ने ? 

अहिले नलुटे कहिले लुट्ने ?

अहिले नकमाए कहिले कमाउने ?

अहिले मस्ति नगरे कहिले गर्ने ?

आउनुहोस् यो उन्माद तन्त्रको,

भरपूर उपभोग गरौँ 

कहिले राजदुत बनाउँदा लुटौँ,

कहिले राजदुत हटाएर लुटौँ 

राजनीतिक भागबन्डाको

जाल बुनेर लुटौँ 

किसानको जमिन भूमाफिया बनेर लुटौँ

नेता बनेर ललिता निवास लुटौँ,

शरणार्थी बनेर आफ्नै दाजुभाइ लुटौँ ।

कृषकहरू कृषि समूहको नेता बनेर आउनुस्

शिक्षक कर्मचारी संघ सङ्गठन खोलेर आउनुस् 

कालो कोट हुनेहरू कालोकोट लाएरै लुटौँ

झण्डा हुनेहरू झण्डा देखाएर लुटौँ 

हाकिमहरू हाकिम बनेरै लुटौँ

कसैले शिक्षामा लुटौँ,

कसैले स्वास्थमा लुटौँ,

ब्यापारीले कालाबजारी गरेर लुटौँ 

यो स्वर्णिम अवसर हो,

सके जति लुट्नुहोस् 

आफू बन्नुहोस्आफ्नालाई बनाउनुहोस्


हामीले नलुटे कस्ले लुट्ने ? 

अहिले नलुटे कहिले लुट्ने ?

हामी सबै मिल्यौँ भने 

यो देश छिट्टै कङ्गाल हुन्छ,

 अनि हाम्रो प्रभुको चित्त बुझ्छ 

मिति :२०८१ असार १९ गते



Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'