लघुकथा : गुरू सम्मान
लघुकथा : गुरू सम्मान
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)
एक जत्था मुल ढोकामा देखापरे !
आफ्ना गुरूलाई भेट्ने भनेपछि चौकिदारले पनि ढोका खोलिदिए, किन कि आजको विशेष दिनमा उनलाई पनि गुरू सम्मान हेर्ने रहर थियो ।
आज गुरू पुर्णिमाको दिन विद्यार्थीको हुल सरासर प्राध्यापक कक्षभित्र प्रवेश गरे !
नाईकेले भन्यो, "खोई झोलाबाट माला झिक !"
सहयोगीले माला झिकेर दियो ।
नाईकेले जबरजस्ती माला लगाईदियो र भन्यो, "खोई सगुन पनि निकाल !"
सहयोगीले झोलाबाट सिसी निकालेर दियो ।
नाईकेले आफ्नो गुरूको मुखभरी सगुन दलिदियो ।
भिडले भनयो, "अब एउटा फोटो खिचौँ , पत्रिकामा पनि त दिनुपर्यो !"
सम्मानीत गुरूलाई बिचमा राखेर फोटो पनि खिचे ।
नेताले गर्वका साथ उद्घोष गरे, "प्रयोगात्मक परीक्षामा हामीलाई राम्रो नम्बर नदिए हामी अर्को वर्ष पनि यसरी नै कालो मोसो र जुत्ताको मालाले गुरू सम्मान गर्छौँ !"
यत्तिकैमा पुलिसको साईरनको आवाज सुनियो । प्रहरीले क्षणभरमै चारैतिरबाट घेरा हाल्यो !
रचनाकाल : २०८१ श्रावण ५
Comments
Post a Comment