लघुकथा: 'उच्च सम्मान'
लघुकथा: 'उच्च सम्मान'
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, टौखाल।हाल: कपन,काठमाडौँ।)
"भाइ साहाब हम आपके साथ एकफोटो ले सकते हैँ ?" शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाईअनुरोध गरे ।
"अरे भाई क्योँ नहीँ, आइए न लिजीए !" भारतको राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमासहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।
उनले मसंग टाँसीएर फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसंग उत्साहकासाथ फोटो खिचाए । ग्रुप फोटोपनि प्रसस्तै खिचे । उनीहरू मसंग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरूङ्ग परेँ ।
विहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरोसाथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाई मिलाई फोटो खिचाए ! देख्नेहरूलाई लाग्थ्यो होला म ठूलै सेलिब्रेटी हुँ !
भिडले उत्साहपूर्वक यो दृष्य नियालीरहेको थियो । म भने गर्वले दङ्ग थिएँ ।
मेरो महत्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मलाईजिज्ञासा राख्नुभयो, "आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे ! खै हामीसँग त त्यस्तो गरेनन् !"
मैले उत्तर दिएँ, "उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे हुँ, न त मैले उनीहरूलाई चिनेको छु !"
"त्यसो भए त्यत्रो सम्मान के को लागि थियो त ?" साथिले सोधे । मैले प्रतिउत्तर दिएँ "मेरो शिरमा सगरमाथा समानकोढाका टोपी सजिएको छ नि त !"
२०८१आश्विन २

Comments
Post a Comment