लघुकथा : बेसारे

 लघुकथा : बेसारे

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)
सामूहिक बलात्कार जस्तै छ !!!
हैन के हो यस्तो ?
अधबैंसे सुधी महिलाका मनमा प्रश्नहरू मडारिएका थिए ।
एउटी सुन्दरी ! बैँसले धपक्कै बलेकी ! उनलाई चारैतिरबाट मानिसहरूले घेरेका थिए । हल्लाखल्ला थियो ।
कोही उनको मुखतिर दल्दै थिए । कोही पाखुरा तिर त कसैले पेटतिर हात पुर्याएका थिए ।
कसैका हातले उनको छाती मुसारी रहेका थिए, अचम्म ! ति सुन्दरी भने उमङ्गले खित्खिताउँदै थिईन् ।
त्यही बिचमा कसैले उनको नाभतिर त कसैले ति सुकोमल सुडौल तिघ्रातिर पनि मुसार्न भ्याए ।
त्यहाँ टुप्लुक्क एकजना छिमेकी बृद्धा आमा आउनु भयो र सोध्नुभयो "हैन यो के गरेको यस्तो ?"
बृद्धा आमाले भन्नुभयो, "हाम्रा पालामा यस्तो केही हुदैनथ्यो र पनि आजसम्म बुढाबुढीको सम्वन्धको गाँठो कसिलै छ, अहिलेका मान्छे के भएका हुन् कुन्नी ?"
"त्यहि त आमा आजभोलिका श्रीमान् श्रीमतीको कुरो गरिसाध्य छैन, सँधै खटपट, अन्त लसपस, सम्बन्ध विच्छेद के के हो के के ?" अधबैँसे बोलिन्,
बृद्धा आमाले बोली फुत्काउनुभयो, "आजभोलि ढर्रा नै बढी ! अहिलेका मान्छे यसरी बिहे अघि बेसार घस्दा रहेछन् र पो आजभोलि लोग्ने स्वास्नीको माया पनि बेसारे हुँदोरहेछ !"
रचनाकाल: २०८१ असार २७

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'