लघुकथा: जाडोको ओखती
लघुकथा: जाडोको ओखती
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, हाल: कपन, काठमाडौँ ।
"आत्थुथु...! यो जाडोले पनि मार्ने भयो यार !"
बिहान आठबजे सिरकभित्र गुटुमुटु पर्दै मनिष क्यानाडामा रहेको आफ्नो साथीसङ्ग भिडियो कलमा बात मार्दै थियो ।
रमेशले उताबाट सोध्यो, "हो र त्यस्तो जाडो छ अहिले नेपालमा ? त्यही जाडोको खवर सुनाउन कल गरेको मलाई ?" ऊ जिस्कियो ।
"आम्मामा ...! तँ यहाँ भएको भए थाहा पाउँथिस्, कस्तो जाडो छ भनेर ! उठेर मुखधुन जान त सकेको छैन ।तँ चैँ त्यहाँके गर्दैछस् नि ?" मनिषले साथीलाई सोध्यो।
क्यानाडाबाट रमेशले हास्दै सुझायो, "म त यहाँ काम गर्दैछु, अनि त्यस्तो हो भने जाडोको ओखती गर्नुपर्छ नि त ! किथाहा छैन तँलाई जाडोको ओखती ?"
रमेशको बोली भूईँमा खस्न नपाउँदै मनिषले हास्दै जवाफ दियो, "किन थाहा नहुनु नि ! जाडोको ओखती भनेको रूई, दुई कि फुइ त हो नि !"
रमेश खित्का छोडेर हास्यो, ऊ थप्दै गयो, "अब दुई हुनलाई बाउले बिहे गर्देका छैनन्, फुई भनेको अब आगो बाल्न कताजाउँ ? त्यसैले यी रूईको सिरक भित्र त बसैकै छु नि !"
साथीको कुरा सुनेर रमेश अझै बढी खित्का छोडेर हास्न थाल्यो ।
मनिष बोल्यो, "ल किन हासेको यार ? झन सही कुरा भन्दैछु तँलाई, तँ पो उता गइस् तँलाई आनन्दै भो !"
घरको छतमा जमेको हिउँ साबेलले फाल्दै गरेको रमेशले सोध्यो, "अनि अङ्कल अन्टी चाहीँ खोई त ?"
मनिषले घरको झ्यालबाट बारीमा कामगर्दै गरेका आफ्नो बाउआमालाई ब्याक क्यामेरा खोलेर रमेशलाई देखाउँदैभन्यो,"ऊ त्यहाँ बारीमा काम गर्दै हुनुहुन्छ ।
रमेशले घोच्यो,"अब बुझिस् नि, जाडोको ओखती के रहेछ भनेर ! त्यता आफ्नो बाउआमालाई हेर अनि यता मलाई हेर!"
२०८१ पौष १५
Comments
Post a Comment