लघुकथा : कुपुत्र

 लघुकथा : कुपुत्र

✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)
दुईवटा लास दुईतिर ढलेका थिए !
"दुष्ट आज तैँले के गरिस् यस्तो ? हे भगवान आज के देख्नु परेको ! मलाई पनि सँगै लैजाउ !" महिला छाती पिटीपिटी अलापविलाप गर्दै थिईन ।
एउटा लासलाई हेरेर आमा रूँदै थिईन् भने अर्को लास हेरेर छोरो भक्कानिदै थियो ।
मान्छेको भिड बाक्लिदै थियो । युट्युबरहरू ओरीपरी आफ्ना क्यामेरा घुमाउदै थिए । प्रहरीहरू पहेँलो रिवनले घेरेर घटना स्थललाई सुरक्षित बनाउन ब्यस्त थिए ।
प्रहरीले बयान सुरू गर्यो !
प्रहरी-"ल भन्नुस् के भएर यस्तो घट्ना घट्यो ?"
"यसले मेरो सिँदुर खोस्यो ! यो अपराधी हो !" छोरातिर सङ्केत गर्दै उनी चिच्याईन् ।"
उनले थपिन, "हामीले यसको खुसीका लागि हाम्रा सबै चाहना कटौती गर्यौँ । जे जे भन्यो त्यही पुरा गरिदियौँ । आज यसले आफ्नै बाउ खायो ! आफ्नी आमालाई बिधवा बनायो !" भन्दै डाँको उनले छोडिन् ।
प्रहरी- "जे नहुनु थियो भैसक्यो, आफूलाई सम्हाल्नुस्, खास घटना कसरी घट्यो भन्नुस् त आमा !"
उनले रूँदै छोरातिर अौँल्याउँदै बताईन, "यसको कुकुरले सुत्ने ओछ्यान फोहोर गरिदिएछ, मेरो बुढाले रिसले मोबाईलले झटारो हान्नु भएछ, ठाउँको ठाउँमा लागेछ कुकुर ठहरै भयो ।"
प्रहरी- "अनि त्यस पछि के भयो ?"
"अनि त्यसपछि के हुनु नि ! उसलाई आफ्नो बाउभन्दा कुकुर प्यारो भयो, रिसले सिलौटोको लोहोरोले टाउकै टाउकोमा हिर्कायो, बाउ ठहरै भए !"
भिडबाट एक जनाको आवाज सुनियो, "कस्तो कुपुत्र रहेछ ! के समय आयो ?
बाउआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन कुकुरको छाउरोमाथि !"
रचनाकाल: २०८१ साउन ४

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'