लघुकथा: अल्पज्ञता
लघुकथा: अल्पज्ञता
✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)
सबै जना जर्याक्जुरूक उठे । राष्ट्रिय गान बज्यो !
उपस्थित सबैले एकसाथ लोलीमा लोली मिलाउँदै राष्ट्रिय गान गाए ।
मन्चमा अनौठो दृष्य देखियो ! प्रमुखअतिथि मन्त्रीले– राष्ट्रिय गान गाउँदा एउटा हात छातिमा राखेका चूपचाप उभिएका थिए ।
विशेष अतिथिले– शिर निहुराएका थिए । अर्का अतिथिले आकाश–पाताल, दायाँ बाँया टाउको घुमाउँदै राष्ट्रिय गान गाए ।
कार्यव्रmमका सभापतिले दुई हात पछाडि राखेर गाउँदै थिए ।
त्यसैगरी दर्शक दीर्घामा हेरिनसक्नु थियो । सबैको आ–आफ्नै ताल थियो ।
राष्ट्रिय गान सकियो । सबैजना आ–आफ्नो स्थानमा बसे ।
दर्शक दीर्घाबाट एकजना सहभागी चिच्याए, “नियमापत्ति ! नियमापत्ति !!”
उद्घोषकले सोधे, “के को नियमापत्ति ? तपाईँ शान्तसङ्ग आफ्नो स्थानमा बस्नुहोस् ।”
उनी फेरि चिच्याए, “नियमापत्ति ! मलाई एकमिनेट बोल्न दिनुहोस् !”
कार्यक्रमको माहोल बिग्रने देखेर सभापतिले उक्त व्यक्तिलाई बोल्न दिन उद्घोषकलाई सङ्केत गरे ।
“ल आउनुहोस्, तपाईँको कुरा के हो छोटोमा राख्नुहोस् ।” उद्घोषकले उनलाई अनुमति दिए ।
उनी सरासर मन्चमा आएर माईक समातेर बोल्न थाले, “म एक शिक्षक हुँ । यहाँ राष्ट्रिय गान बज्दा पालना गर्नुपर्ने नियमको उलङ्घन भएको देखेँ ! राष्ट्रिय गान गाउँदा छातीमा हात राख्ने होईन, न हामीले शीर झुकाउन हुन्छ ! न त खुट्टा फट्याएर उभिन हुन्छ !”
मन्त्रीले झपारे, “तपाईँले हामीलाई सिकाउने ? कसरी उभिने त त्यसोभए ? तपाईँ खुरूक्क आफ्नो स्थानमा गएर बस्नुस् !”
उनले माईक छोडेनन्, फेरि बोल्न थाले, “देशको राष्ट्रिय गान बज्दा कसरी उभिनु पर्छ भन्ने पनि नजान्ने मन्त्री लगायत मन्चासिन सबै अतिथिले राष्ट्रिय गान गाउँदा के गर्नुपर्छ ? एकपटक संविधान पढ्नुस् र सिकेर आउनुस् ! तर राष्ट्रियगानको अपमान नगर्नुस् !”
उनले फेरि थपे, “यस्तो कार्यक्रममा बस्नु हुदैन, सबै बाहिर जाउँ !” भन्दै उनी बाहिरिए । गडगडाहट ताली बज्यो । सभामा उपस्थित सबै उनकै पछि लागे !
२०८१ पौष १२
२०८१ पौष १२
Comments
Post a Comment